बोटबिरुवाहरूको जरा माटोभित्र फैलिएको हुन्छ। जराहरूले माटोलाई समात्ने हुँदा बोटबिरुवा जमिनमाथि अडिन सक्छ। जराद्वारा माटोभित्रबाट बोटबिरुवाले आफनो खाने कुरा प्राप्त गर्दछ। माटोभित्र भएको पानीमा (चिस्यान) विभिन्न खनिज तत्वहरू घुलनशील अवस्थामा रहन्छन्। घुलनशील अवस्थामा रहेका खनिज तत्वहरू बोटाको जराले शोषण गरेर लिन्छ। त्यसकारण माटोको रासायनिक तथा भौतिक बनौट महत्वपूर्ण रहन्छ। माटो विभिन्न किसिमका हुन्छन्। जस्तै :-
१. बलौटे माटो :
बालुवाको मात्रा बढि भएको माटोलाई बलौटे माटो भन्दछन्। धेरैजसो तरकारीबालीहरूको लागि यो माटो राम्रो हुँदैन। यसको खास कारण के हो भने बलौटे माटोले पानी अड्याइराख्न सक्दैन र धेरै पटक सिंचाई
गरिरहनु पर्छ। यस्तो माटोमा पानी पठाउँदा साथ पानी बगेर जमिनको तल्लो भागमा जान्छ। जस्ले गर्दा खनिज तत्वहरू पनि बगाएर लैजाने हुँदा हामीले दिएको मल बोटबिरुवाले पाउँदैन र नोक्सान हुन्छ।
२.बलौटे दुमट माटो:
यस्तो माटोमा बालुवाको मात्रा प्रशस्त हुने भएतापनि यसमा सिल्ट र मसिनो माटोको भाग मिसिएको हुन्छ। यसो भएका खाद्य तत्वहरू पनि बिरुवालाई सजिलैसित उपलब्ध हुन सक्छ। धेरैजसो जरे
तरकारीबालीहरू मुला, गाजर, सलगम, प्याज आदिको लागि यस्ता माटो असल हुन्छ। यस्तो माटोमा गोडमेल गर्न र भारपात हटाउन पनि सजिलो हुन्छ।
३. दुमट माटोः
यस्तो माटोमा बालुवा, सिल्ट र मसिनो माटो मिसिएको हुन्छ। यसले धेरै समयसम्म पानी अड्याइराख्न सक्छ र प्रायः सबै किसिमका खाद्य तत्वहरू बिरुवाले यसबाट पाउँछन्। धेरै जसो तरकारी खेतीको लागि
दुमट माटो उपयुक्त हुन्छ।
४. चिम्ट्याइलो माटो :
यस्तो माटोमा बालुवाको अनुपात थोरै र सिल्टको अनुपात धेरै हुन्छ। यस्तो माटो सुख्खा अवस्थामा धेरै कडा र ठूलोठूलो डल्ला पर्ने, चीरा पर्ने र भिजेको अवस्थामाधेरै चिप्लो र टाँसिने हुन्छ। यस्तो माटोले पानी
धेरै समयसम्म अड्याइराख्न सक्छ।